ओखलढुङ्गा, २४ वैशाख (रासस) । ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् ।
शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो ।
हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो ।
सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन् । शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ । “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो । शहरबाट आएकाहरू जताततै हिँडडुल खानपिन गरिरहेका छन् । गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भन्नुभयो, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो । जाँच्दा कोरोना पुष्टि भयो । झन् यस्ता नवप्रवेशीका कारण गाउँमा त्रास बढ्यो ।”
कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौँ मानिस गाउँ फर्किएका छन् । उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन् । गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ । तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो ।
जिल्लामा सङ्क्रमित भएकामध्ये बुधबार सङ्क्रमण पुष्टि भएका सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडाका एक पुरुषको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
शुरुमा जटिल समस्या देखिए पनि अहिले सङ्क्रमितको केही स्वास्थ्यमा सुधार आएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । उहाँका अनुसार नयाँ सङ्क्रमितमध्ये खिजिदेम्बाका एक पुरुषलाई अक्सिजन दिनुपर्ने अवस्था भएकाले उनको जिल्ला सामुदायिक अस्पताल ल्याउने तयारी भइरहेको छ ।
खिजिदेम्बाका अर्का एक पुरुषको काठमाडौँमा उपचार भइरहेको र अरु सङ्क्रमितको अवस्था सामान्य रहेकाले उनीहरू होमआइसोलेशनमा छन् ।
जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोनाको लक्षण देखिएकालाई एन्टिजेन परीक्षण विधिबाट कोरोना जाँच्ने गरिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं