नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार इतर समूहका नेताहरूसँग बैठक गरेका कोइरालले आज सभापति देउवालाई भेटेर देउवालाई सचेत गराएका हुन्।
मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्। जहाँ उनीसहित उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि साथमा थिए।
मंगलबार बालुवाटारमा भएको बैठकले देउवालाई भेट्न शेखरसँगै महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे पनि जाने निर्णय गरेको थियो। तर दुई नेता बाँकी रहेको बीपी साहित्य महोत्वसमा व्यस्त भएकाले धुम्बाराही गएनन्।
देउवासँगको भेटका क्रममा शेखरले चौधौँ महाधिवेशनपछि पनि सभापतिको कार्यशैलीमा कुनै परिवर्तन नदेखिएको भन्दै आक्रोश पोखेका छन्। कोइरालाले देउवासँग भएको आधा घण्टा लामो भेटवार्ताका क्रममा पार्टीको आन्तरिक संरचनादेखि देशको आर्थिक र कूटनीतिक अवस्था पनि ध्वस्त हुने बाटोमा पुगेको कुरा राखेका थिए।
कोइरालाले त्यसक्रममा कांग्रेसका भ्रातृसंगठन लथालिंग बनाएको, समिति मनोनयनमा पनि विधान र मापदण्ड केही पनि पालना नगरेको कुरा पनि उठाएका थिए। ‘भ्रातृसंगठनमा गाईजात्रे तरिकाले मनोनयन गरिएको छ। पार्टीमा पनि विधानविपरीत काम भइरहेका छन्। तपाईंको कार्यशैली पनि सुध्रिएन’, शेखरले देउवासँग भने, ‘विधानअनुरुप पार्टी र भ्रातृसंगठन चलाउने कुरामा तपाईंले वास्तै गर्नु भएन।’
कोइरालाले कोशी प्रदेशमा अस्थिरताको विषय पनि देउवासँग उठाए। ‘कोशी प्रदेशको समस्या त्यति गम्भीर तहमा पुगिसक्दा पनि कांग्रेसको भूमिका के हो? कहीँ कतै देखिँदैन’, कोइरालाले भने, ‘संघीय संसद्को संसदीय समितिको नेतृत्व चयनमा पनि छलफल हुँदैन। प्रदेश सरकारमा पठाउने सांसदबारे कुरै भएको छैन।’ उनले राष्ट्रिय राजनीति यति लथालिङ्ग हुँदा पनि कांग्रेस नेतृत्व चुपचाप बस्नु गैरजिम्मेवारीपन भएको उल्लेख गरे।
‘राष्ट्रिय राजनीति यति लथालिङ्ग हुँदा पनि, देश हरेक हिसाबमा ध्वस्त हुन लाग्दा सबैभन्दा ठूलो दल कांग्रेस चुपचाप छ’, कोइरालाले भने, ‘देश कूटनीतिक रुपमा असफल हुन लाग्दा पनि तपाईंले पार्टीभित्र कुनै छलफल गर्नु भएन।’ कोइरालाले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएका मन्त्रीहरुबारे देउवाले कहिले छलफल र समीक्षा नगरेकोमा पनि आपत्ति जनाए।
‘गठबन्धन सरकारमा पार्टीबाट गएका मन्त्रीहरुबारे हामी कहिले कुरा गर्दैनौँ’, उनले देउवासँग भने, ‘उनीहरुका कामको समीक्षा हुँदैन। धेरै मन्त्रीसहित पार्टी सरकारमा हुँदा पनि उनीहरुको कामले जनता कति खुसी छन्? हामीले कहिले त्यसबारे कुरै गरेनौँ।’ उनले पार्टीबाट जनता टाढिएको बताउँदै देशमा अराजकताको माहोल बनेको पनि उल्लेख गरे। ‘हामीबाट जनता टाढिइसके। मुलुकमा अराजकता बढिसक्यो’, उनले भने, ‘यस्तो अवस्थामा हामीले कुन मुख लिएर अघि बढ्ने? देशको अवस्था र सरकारको कार्यशैलीबारे हामी कुरै गर्दैनौँ। यसरी कति दिन चलाउने?’
उक्त भेटका क्रममा कोइरालाले अब पनि सच्चिएर नजाने हो भने अलग अलग बाटोमा अघि बढ्नु उचित हुने चेतावनी पनि देउवालाई दिएका छन्। ‘अब या त तपाईं यस्ता कुरा सच्याएर अघि बढ्नुस्। होइन भने तपाईं आफ्नो ढंगले अघि बढ्नुस्, म आफ्नो तरिकाले अघि बढ्छु। अबदेखि तपाईंसँग कुनै किसिमको संवाद र भेटघाटका लागि म आउँदिन। म आफ्नो ढंगले अब अघि बढ्छु।’
भेटमा सहभागी एक नेताले आक्रोशित भएका कोइरालाई शान्त पार्दै आफूले सबै कुरा मिलाउने जवाफ दिएका थिए। ‘म सबै मिलाइ हाल्छु’, उनले कोइरालालाई जवाफ दिँदै भनेका थिए, ‘धेरै चिन्ता गर्नुपर्दैन, म मिलाउँछु, हामी पार्टीमा पनि बसेर कुरा गरौँला।’
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं