रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन । अघिल्लो वर्ष प्रतिकेजी २५ का दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ मा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको खड्काले सुनाए । “बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो ३० का दरले र ठूलो दानालाई प्रतिकिलो ५२ का दरले सुन्तला बिक्री हुँदा खुशी लागेको छ । गत वर्ष २५ का दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको थियो । यस वर्ष दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा निकै खुशी छु,” खड्काले भने ।
सुन्तला बिक्रीबाट ५३ हजार आम्दानी भएको र बिक्री गर्न अझै केही सुन्तला बाँकी रहेको उनले जानकारी दिए । हाल खड्काको बारीमा एक सय बोटले फल दिन थालेको छ । सुन्तला राम्रो उत्पादन हुने भएकाले एक सय बोट थप गर्ने सोचमा खड्का छन । वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्काले पनि निकै खुशी लागेको बताए । अघिल्लो सालको भन्दा दोब्बर आम्दानी हुनाका साथै बारीबाटै ८३ हजारको सुन्तला बिक्री गरिएको उनको भनाइ छ।
गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुवै वृद्धि भएकाले किसानले राम्रो मूल्य पाएको रुकुम पश्चिमस्थित कृषि विकास कार्यालले जनाएको छ । जिल्लामा यस वर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले चार करोड ६० लाख आम्दानी गरेको कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिएका छन ।
उनका अनुसार गत वर्ष प्रतिकेजी २५ देखि ३० सम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ४० देखि रु ६० सम्ममा बिक्री गरेका छन् । जिल्लामा विशेषगरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । त्यस्तै अन्य पालिका मुसिकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाफीकोट गाउँपालिकामा केही मात्रामा सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए ।
थोरै उत्पादन गर्ने किसानका लागि सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यावसायिकरूपमा सुन्तला खेती गर्ने किसानलाई बजारको समस्या नरहेको उनको भनाइ छ । सुन्तला खरिद गर्न किसानको बारीमै व्यापारी पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान र नेपालगञ्जसम्म जाने गरेको छ । थोरै सुन्तला उत्पादन गर्ने किसानलाई भने ढोकामा बोकेर बजारसम्म लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । जिल्लामा व्यावसायिकरूपले सुन्तला खेती गर्ने किसानले वार्षिक रु आठ लाखदेखि रु नौ लाखसम्म आम्दानी गरेका छन् ।
व्यावसायिकरूपले सुन्तला खेती गर्ने किसानको सङ्ख्या आठ दशजना मात्र भए पनि सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सयभन्दा बढी रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । “कृषि पेसाबाट किसानको आयस्तर बढेको छ । हरेक कृषि बालीमा व्यावसायिकीकरण हुँदै गएको छ । कृषि विकास कार्यालयले अनुदानभन्दा पनि किसानलाई बिक्री परिमाणका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा परिश्रम गर्ने किसानलाई थप उत्पादन गर्न हौसला मिलेको छ,” उनले भने ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं