तनहुँ- राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् ।
भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने अवस्था रहेको गुनासो गरे ।
“अबका दुईचार वर्षमा यी सबै गाउँमा कालोपत्र सडक पुर्याउन हामी लागेका छौँ । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ?”, राष्ट्रपति पौडेलले भने, “विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैँसँग गरिरहेको छु । उत्तर पनि मसँगै छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बन्न सकेन ।”
राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रमशक्तिको पलायन भएको उल्लेख गरे । “अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभयो । उतै बस्नु भयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ”, उनले भने ।
राष्ट्रपति पौडेलले आफूले पहिलोपटक चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु भनेको स्मरण गरे । आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्यचौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको उनको भनाइ थियो ।
उनले अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए । उनले गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रोपटक गृहजिल्ला पुगेका राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही विषयमा आज पनि उभिएको स्पष्ट पारे ।
उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अबको शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले भने, “हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, विविधता छ । त्यसलाई हामीले चिन्न सकेनौँ । हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गर्नु जरुरी छ ।”
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं