पहिराले रित्तिँदै बस्ती

पहिराले रित्तिँदै बस्ती

pahiro

गलेश्वर, ३ साउन (रासस) ःजथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् ।

जिल्लाको बेनी नगरपालिका– ३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि यस्तै छ ।

गाउँको पुछारमा भीषण पहिरो छ । शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका पनि पानी पर्दा अनिदा आँखा बनाउँदै बस्न बाध्य भएका छन् ।

रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभएको छ ।

गाउँपालिकाका कुइनेमङ्ले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धूपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बूडिचौरलगायतका बस्ती बाढीपहिराको उच्च जोखिममा छन् ।

ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो ।

बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वरपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीयवासी धर्म रोकाले बताउनुभयो । “पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौँ”, उहाँले भन्नुभयो, “कमजोर भू–भागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ ।”

त्यसैगरी बेनी नगरपालिका– ३ को तोराखेत गाउँ पनि पहिरोका कारणले रित्तिएको छ । एक दशक अघिसम्म ७० घरपरिवारको बसोबास रहेको तोराखेतमा अहिले १० घर परिवारको मात्र बसोबास रहेको छ ।

विसं २०६० देखि तोराखेतमा पहिरो चल्न सुरु भएको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताउनुभयो । पहिरोकै कारण तोराखेतबाट विस्थापित भई बगरफाँटमा बस्दै आउनुभएका सापकोटाका अनुसार त्यसपछि लगातार रुपमा पहिरो चल्दै आएकोले तोराखेतका बासिन्दा भकुण्डे, फाँपरखेत र बगरफाँटमा बसाइँ सरेका छन् ।

पहिरोले त्रासकाबीच पनि आफू गाउँमै बस्न बाध्य रहेको स्थानीयवासी कुन्दा परियारले बताउनुभयो । “पहिले गाउँमा धेरै घर थिए, मान्छेहरु पनि धेरै नै बस्ने गर्थे, पहिरोका कारण धेरैको धन सम्पत्ति नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ”, परियारले भन्नुभयो ।

बस्ती माथिबाट बिना इञ्जिनीयरिङ खनिएको सडकका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀