म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोटमा विश्व वातावरण दिवसको अवसरमा आइतबार समुदायलाई कैलाशफाँट धार्मिक वन हस्तान्तरण गरिँदै । १.०३६ हेक्टर क्षेत्रफलको धार्मिक वन दर्ता गरेर हस्तान्तरण गरिएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस
म्याग्दी, २३ जेठ (रासस) ःम्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ ।
सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो ।
१.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।
कार्यालय प्रमुख मनोज रानाभाटले विश्व वातावरण दिवसको अवसरमा औपचारिक रुपमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । “नापचाँज, क्षेत्रफल पहिचान, विधान, कार्ययोजना र समूह दर्तालगायत सबै प्रक्रिया पूरा गरेर हस्तान्तरण गरेका हौँ”, उहाँले भन्नुभयो, “वन विकास, जैविक विविधता र वातावरण संरक्षणसँगै धार्मिक पर्यटन विकास गर्ने उद्देश्यले धार्मिक वन बनाएका हौ ।”
प्राचीन कालमा ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको कैलाशफाँटमा शिव मन्दिर रहेको छ । म्याग्दी नदी किनारको शिव मन्दिर परिसरको बगर र सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरेर वन बनाइएको समूहका अध्यक्ष छविलाल कँडेलले बताउनुभयो ।
वातावरण दिवसको अवसरमा वनमा १०८ पीपलका बिरुवा रोपिएको छ । घेराबार र संरक्षणका लागि डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा रु तीन लाख सहयोग गरेको छ ।
एकै ठाउँमा १०८ वटा पीपलको बिरुवा भएको ठाउँमा पूजाआजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । यसअघि स्थानीयवासी १०८ पीपलको पूजा गर्न बागलुङको बलेवा पुग्ने गरेका थिए । कैलाशफाँट धार्मिक वन जिल्लाको दोस्रो हो ।
यसअघि बेनी नगरपालिका–३ भकिम्लीमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको थियो । म्याग्दी जिल्लाभर ३१८ सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो ।

भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं