भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमण, क्वारेन्टिन नबस्नेलाई कारवाही

भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमण, क्वारेन्टिन नबस्नेलाई कारवाही

corona 2

शेरबहादुर सिंह÷ विमल विष्ट

महेन्द्रनगर, १२ चैत (रासस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो ।

परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा आज बिहान मात्रै भारतको पञ्जाव र पुनाबाट आएका चार जनामा सङ्क्रमण देखिएको छ ।

गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका यहाँको पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले कैलालीको टीकापुरका दुई र डोटीका दुई जनामा सङ्क्रमण देखिएको बताए ।

“यस नाकाबाट दैनिक ५०० देखि ७०० सम्म नेपाली भारतबाट फर्किरहेका छन् ।” अहेव साउदले रासससित भने, “सीमामा परीक्षण गर्दा हरेक दिनजसो कोरोना पोजेटिभ देखिएको छ ।”

उनले बुधबार सोही नाकामा परीक्षण गर्दा आठ र मङ्गलबार पाँच जनामा कोरोना देखिएको बताए । “एक साताको विवरण हेर्दा २० जनामा सङ्क्रमण देखिएको छ”, उनले भने, “भारतमा सङ्क्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ सङ्क्रमण देखिन थालेको छ ।”

गड्डाचौकी प्रहरीका अनुसार पछिल्लो समय भारतका विभिन्न शहरमा कोरोनाको सङ्क्रमण बढिरहेसँगै मजदुरीका लागि भारत गएकाहरु सिमानाबाट फर्किने क्रम बढेको छ । “दैनिक चारदेखि पाँच सय नेपाली गड्डाचौकी नाकाबाट घर फर्किरहेका छन् ।”

इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “सीमामा स्थानीय प्रशासनले भारतको सङ्क्रमित क्षेत्रबाट आइरहेकाहरूको स्वास्थ्य परीक्षण पनि गरिरहेको छ ।”

कोरोना कहरको अवस्था सामान्य बन्दै गएका बेला भारत जाने क्रम यहाँबाट शुरु भए पनि भारतमा सङ्क्रमण बढ्दा फर्किनेको चाप बढ्न थालेको हो । त्यसैगरी कञ्चनपुर प्रशासनले पनि यहाँ कोरोना सङ्क्रमण बढ्न नदिन स्वास्थ्य सतर्कता कायम गर्न अनुरोध गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भारतका केही राज्यमा कोरोना सङ्क्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै यस्तो अवस्थालाई मध्यनजर गर्दै प्रशासनले आदेश जारी गरेको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा जारी विज्ञप्तिमा नजिकिँदै गरेको होलीलगायत कुनै मेला, पर्व र भीडभाड नगर्न भनेको छ । प्रशासनले कोरोना सङ्क्रमण बढ्न नदिन सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रहसमेत गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भारतमा कोरोना पुनः फैलिएसँगै यहाँका सीमामा कोरोनाको नमूना परीक्षणका लागि जनशक्ति थप गरिएको बताए । “पूर्वी गौरीफन्टा नाकामा सङ्क्रमण बढी देखिएको छ”, उनले भने, “त्यहाँ कैलाली र कञ्चनपुरको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।” गड्डाचौकी नाकामा पछिल्लो समय पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयले माथिल्लो तहबाट आएको निर्देशनानुसार स्थानीय प्रशासन र पालिकासित समन्वय गरेर अघि बढेको छ । “सीमामै हेल्थ डेस्क राखेर एन्टिजेन परीक्षण भइरहेको छ”, प्रमुख सुनारले भने, “पञ्जाव, गुजरात र महाराष्ट्रलगायतका क्षेत्रबाट आइरहेकामा शङ्कास्पद देखिएको परीक्षण गर्ने गरिएको छ ।”

भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारवाही

डोटी– पछिल्लो केही दिनयतादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेका कारण अहिले रोजगारीका लागि भारत गएका जिल्लाका दजनौँ नागरिक घर फर्किन थालेका छन् ।

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ ।

डोटीबाट सयौँ नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर गएका र अहिले उनीहरु घर फर्किन थालेका कारण जिल्लामा कोरोनाको जोखिम बढ्ने निकै सम्भावना रहेको भन्दै सचेत हुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । कोभिड–१९ बारे फेरि सतर्कता अपनाउन प्रशासनले एक सार्वजनिक सूचना जारी गरी सबैमा अनुरोधसमेत गरेको छ । उक्त बैठकले छ बुँदे निर्णय गरी कार्यान्वयन गर्न÷गराउन सबैमा आग्रह गरेको छ ।

भारतबाट घर फर्किने व्यक्तिले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफैँ सजग भई तोकिएको न्यूनतम अवधिसम्म क्वारेन्टिन÷सेल्फ आइसोलेशनमा बस्ने, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा सङ्क्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नव वर्षलगाएतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सीमित सङ्ख्यामा परिवारका सदस्यबीच मात्रै मनाउने, साथै पर्वमा मानिस जम्मा भई गरिने शुभकामना आदान–प्रदान, घरघरमा खेलिने होलीजस्ता सांस्कृतिक कार्यक्रम, नाचगानजस्ता गतिविधि नगर्न÷नगराउन उक्त निर्णयमा उल्लेख गरिएको छ ।

यसैगरी ठूलो सङ्ख्यामा भेला भई गरिने बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, पूर्वनिर्धारित अत्यावश्यक कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल, रेष्टुरेण्ट, डान्सबारलगायतका मानिसको भीड हुने व्यवसाय राति अबेरसम्म सञ्चालन नगर्ने÷नगराउने, सम्पूर्ण कार्यालय, निकाय, सङ्घसंस्था, शैक्षिक संस्थाले दैनिक सेवा प्रवाह एवं कार्यसञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने÷गराउने र कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई नियन्त्रण एवं रोकथामका लागि भीडभाडमा नजाने, सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले बारम्बार हात सफा गर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरी आफू र अरुलाई सङ्क्रमणबाट बचाउन आग्रह गरिएको छ ।

पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण तथा मृत्युदर बढेसँगै डोटीमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रहसहित प्रशासनले सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनले भने, “कोरोनाबाट जोगिन हामीले सावधानीका लागि आग्रह गरेका छौँ, नियमको पालना नगर्नेलाई सङ्क्रमण रोग ऐनअन्तर्गत कारवाही हुनेछ ।” नजिकै आइरहेको होलीलगायत सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण चाड विशुपर्व मनाउन र कोभिडको बढ्दो सङ्क्रमणका कारण भारतबाट मानिस नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइसाथ पालना गर्न सूचनामा भनिएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀