हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?

हृदयाघात के हो ? किन हुन्छ जवानीमै हृदयाघात ?

heart-attacks-are-a-serious-form-of-heart-disease-with-many-different-causes

काठमाडौं – शहीद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन्। अधिकांश ४० वर्षमाथिका हुन्छन्। तर, करिब सात महिनाअघि अस्पतालको इमर्जेन्सीमा २० वर्षका एक युवालाई ल्याइयो। हृदयाघात भएरै ल्याइएका उनको केन्द्रका सिनियर कन्सलटेन्ट कार्डियोलोजिष्ट डा यादवदेव भट्टले सफल शल्यक्रिया गरे।

‘डाक्टरी पेशाका क्रममा मैले हजारौँ हृदयाघातका बिरामीको उपचार गरें’, डा. भट्टले भने, ‘तर त्यो सबैभन्दा कम उमेरको हृदयाघातको शल्यक्रिया थियो।’ उनका अनुसार यी युवा अहिले स्वस्थ भइसकेका छन्।

डा. भट्टकै जस्तो अनुभव छ, गंगालालका डा. मनबहादुर केसीको पनि। उनका अनुसार, अस्पतालमा २१ वर्षकी एक युवती पनि हृदयाघात भएर उपचार गर्न आएकी थिइन्। समयमा नै अस्पताल ल्याइएकाले उनको सफल उपचार भएको डा. केसी बताउँछन्। तर,केही समयअघि २७ वर्षका युवालाई बचाउन नसकेकोमा भने उनलाई निकै दुख लागेको छ। डा केसीका अनुसार लव केसी नाम गरेका ती युवा शुक्रबारको फ्लाइटबाट खाडी मुलुकमा काम गर्न जाने तयारीमा थिए। गाउँबाट परिवार तथा आफन्तबाट बिदा भएर बिदेश जाने रंगिन सपना बोकेर काठमाडौँमा आएका उनी एक्कासी बिरामी भए।

‘गर्भवती श्रीमती उनलाई एयरपोर्टमा बिदा गर्न आएकी थिइन्। तर, राति नै उनलाई ‘म्यासिभ हर्टअट्याक’ भएर अस्पताल ल्याइएको थियो,’ डा. केसीले भने, ‘तर, हामीले उनलाई बचाउन सकेनौं। उनको भोलिपल्ट बिहान नै मृत्यु भयो।’

केहीसमयअघि सम्म हृदयाघात ४० वर्ष कटेका मानिसमा लाग्ने रोगका रुपमा परिचित थियो । तर पछिल्ला वर्षमा युवा र महिलामा पनि हृदयाघात देखिन थालेको छ। ‘हृदयाघात अब बुढापाकाको मात्र रोग रहेन’, डा. भट्ट भन्छन्,  ‘नेपालमा युवा अवस्थामा नै हृदयाघात हुनेहरूको संख्या ह्वात्तै बढेको छ।’

युवामा किन ?

बरिष्ठ मुटुरोग सर्जन डा. भगवान कोइराला भन्छन्, ‘युवाहरूमा हृदयाघात देखिनुको प्रमुख कारण नै धूमपान, मोटोपन र अस्वस्थ जीवनशैली नै हो ।’ उनका अनुसार ४० वर्षभन्दा कम उमेरका व्यक्तिलाई हृदयाघात देखिएको छ भने तीमध्ये ९८ प्रतिशत व्यक्तिहरू धूमपानको लतमा रहेको पाइन्छ । बाँकीमा भने अन्य समस्याका कारण हृदयाघात भएको हुनसक्छ।

डा. कोइरालाका अनुसार सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गएको छ। सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसहरूलाई कोलेस्टेरोल, मोटोपन र उच्चरक्तचापजस्ता हृदयाघातका कारणलाई जन्म दिइरहेको छ।

‘विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले हृदयरोगीको संख्या बढाइरहेको छ’, डा. कोइरालाले भने, ‘झन् युवापुस्तामा धूमपानको लतले त कलिलै उमेरमा रोगी बनाउन थालिसकेको छ।’

नेपालमा पछिल्ला वर्षमा महिलामा पनि हृदयाघातको जोखिम बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाएको छ। मुटुरोगको उपचार हुने गंगालाल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक तथा ग्रान्डी अस्पतालमा युवा तथा महिलासमेत हृदयाघातको उपचारका लागि आउने गरेका छन्।

गंगालाल अस्पतालको गत वर्षको तथ्यांकअनुसार अस्पतालमा ११८८ जनाको हृदयाघातको उपचार गरिएको थियो। तीमध्ये २७ प्रतिशत अर्थात् ३ सय ३१ जना महिला थिए। सन् २०१२ मा त अस्पतालमा झन् ३४ प्रतिशत महिलाको हृदयाघातको उपचार गरिएको थियो। अस्पतालका चिकित्सक डा. केसीका अनुसार महिलामा हृदयाघात बढ्नुको प्रमुख कारण महिलामा हुने मोटोपन र शारीरिक अभ्यासको कमी हो नै। यसका साथै महिनावारी सुकेपछि महिलामा सुरक्षात्मक हर्मोनको कमी हुनु र शारीरिक अभ्यासको निष्कृयताले मुटुरोग जन्माइरहेको उनको भनाइ छ।

वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले त उपचारका क्रममा १७ वर्षका युवामा समेत हृदयाघातको जोखिम रहेको फेला पारेका छन् । उनका अनुसार मोटोपनसँगै अत्याधिक धूमपान गर्ने ती युवा समयमा नै उपचारका लागि आएकाले हृदयाघातको जोखिमबाट जोगिएका थिए।

‘नेपालमा युवामा हृदयाघात ह्वात्तै बढेको पाइन्छ,’ उनले भने, ‘पाँच वर्षअगाडिसम्म समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर आजकाल १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि हृदयाघात बढेको छ।’

डा रेग्मीका अनुसार दस वर्षयता हृदयाघात पाँच गुणाले बढेको छ। जसमा १७ वर्षदेखि माथिका युवा पनि छन्। उनले विलासिता र सुविधाका कारण शारीरिक श्रमका दृष्टिले निष्क्रिय जीवनशैली हृदयाघातको प्रमुख कारणका रूपमा देखिएको बताए।

विश्व स्वस्थ्य संगठनका अनुसार, हृदयाघातका बिरामी विकसित मुलुकको तुलनामा गरिब तथा विकासोन्मुख देशका युवामा धेरै देखिन थालेको छ। दक्षिण एसियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको छ। अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। तीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन्।

 हृदयाघात के हो ?

विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगमध्ये हृदयाघातले विश्वमा वर्षेनी सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ। त्यसमा पनि हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ।

चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो। यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ। मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ।

तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ। जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन। यसबाट बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ। यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ। मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ। यो अवस्थालाई हृदयाघात भएको भनिन्छ।

हृदयाघातका कारण

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन्। त्यसकारण हृदयाघात पनि जीवनशैली र खानपानका कारण हुने रोग हो। बढ्दो व्यस्त जीवन, आधुनिक सभ्यता, महत्वाकांक्षा, चिल्लो बढी भएको खानपान, मद्यपान तथा धूमपानको लत, अत्याधिक तनाव, शारीरिक श्रमको कमी तथा व्यायामको कमी नै हृदयाघातका प्रमुख कारण हुन। तीमध्ये धूमपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, व्यायामको कमी र मानसिक तनावलाई सवैभन्दा ठुलो कारकका रुपमा लिइन्छ।

चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग

चिकित्सकका अनुसार चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयाघातको एक मुख्य कारणका रूपमा विकास हुँदै गैरहेको छ। चुरोटमा हुने निकोटिनले नसाहरूको भित्री भागमा घाउ बनाइदिन्छ। जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयाघात हुने मुटुरोग विशेषज्ञ डा ओममुर्ति अनिल बताउँछन्।

उच्च रक्तचाप

उच्च रक्तचाप पनि हृदयाघातको अर्को कारण हो। समयमा रक्तचापलाई नियन्त्रण गर्न नसक्नेहरूले हृदयाघातको सामना गर्नुपरिरहेको चिकित्सकहरूको भनाइ छ। उच्च रक्तचापले दबाब बढाउँदा रक्तनलीमा विभिन्न थेग्रोहरू जम्न मद्दत पुर्‍याउँछ र त्यो प्रक्रिया बढ्दै जादा रगतको प्रवाह बन्द हुने डा रेग्मी बताउँछन्।

मधुमेह 

हृदयाघातको अर्को कारण मधुमेह पनि हो। शरीरमा चिनी अर्थात् ग्लुकोजको मात्रा आवश्यकताभन्दा धेरै हुन जानु नै मधुमेह अर्थात् चिनीरोग लाग्नु हो। मान्छेको रगतमा ७० देखि १ सय ५० मिलिग्रामभन्दा बढी चिनीको मात्रा हुँदा रगत पातलो हुन गई थेग्रो जम्मा हुन्छ। नजानिँदो ढंगले बढ्ने त्यही थेग्रोले हृदयाघात गराउँछ।

मुटुरोग विशेषज्ञ डा रेग्मीले कामको बोझ वा अन्य यस्तै कारणले हुने मानसिक तनाव पनि हृदयाघातको एउटा कारण रहेको जानकारी दिए। उनका अनुसार तनावले शरीरमा हानिकारक रसायनहरू उत्पन्न गराउँछन् र ती रसायनले नसा खुम्चिने, नसामा चोट लाग्ने समस्या उत्पन्न हुन्छ। जसका कारण रक्तनलीमा थेग्रो जम्न जान्छ।

तनाव 

तनावले पनि रक्तचाप र मुटुको चाल बढाउँछ। जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ।

व्यायामको कमी 

हृदयाघातको अर्को कारण व्यायामको कमी पनि हो। शारीरिक श्रम तथा व्यायामको कमीले शरीरमा बोसोको मात्रा बढाउँदा हृदयाघातको अवस्था तयार हुन्छ। दैनिक हिँड्ने, दौडिने, खेल्नेजस्ता क्रियाकलापको कमीले मानीसलाई मोटो बनाउँछ। मोटोपन भनेको शरीरमा अनावश्यक बोसो जम्मा हुनु हो। त्यस्ता बोसो शरीरका सबै भागमा जम्मा हुन्छ। जस्का कारण नसामा समेत बोसो जम्मा भएर रक्तप्रवाहमा अवरोध सृजना गर्दछ र हृदयाघात हुने गर्छ।

लक्षण

हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ। छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौं चीजले थिचेर असह्य पीडा भएको जस्तो महसुस हुने गर्छ। यसका साथै पेटको माथिल्लो भाग, पिठ्यूँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्छ। हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ। यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन्।

हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ। हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको अस्पताल नै पुग्न नपाई मृत्यु हुन्छ। हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकहरूको भनाइ छ।

स्रोत ः स्वास्थ्य खबरपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै
बर्ड फ्लुको उच्च जोखिम

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 17 Jun 
Nepal Rastra bank
Check: 17 Jun 2024 18:45 UTC
Latest change: 17 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.7
Indian Rupee 
Indian Rupee
83.52
US Dollar 
US Dollar
1
Euro 
Euro
0.93
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
157.67up
US Dollar 
US Dollar
1
Rastra · USD · 17 Jun 
Nepal Rastra bank
Check: 17 Jun 2024 18:45 UTC
Latest change: 17 Jun 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀