अर्बौं रुपैयाँको लगानीमा खुलेको पोखराको फाईभ स्टार ‘फुलबारी रिसोर्ट’ यसरी बन्द भयो

अर्बौं रुपैयाँको लगानीमा खुलेको पोखराको फाईभ स्टार ‘फुलबारी रिसोर्ट’ यसरी बन्द भयो

Hotel-Fulbari

आश्विन २०७४-‘वान अफ दी ग्रेटेस्ट होटल ईन द वर्ल्ड’ लेखिएको बोर्ड लवी नजिकै झुन्ड्याइएको छ । हुनपनि पोखराको पाँचतारे होटल दि फुलबारी रिसोर्ट एन्ड स्पा नेपालमा मात्र नभएर दक्षिण एसियाकै ‘नमूना’ थियो । पाँचतारे प्लस डिलक्ससमेत रहेको रिसोर्ट खर्चालु अर्थात् महंगो पर्यटकका लागि एउटा गतिलो गन्तव्य थियो ।

यतिबेला रिसोर्टको परिवेश फेरिएको छ । मजदुर आन्दोलनका कारण गत फागुन १७ गतेदेखि बन्द रिसोर्टले सबै मजदुरलाई एकैसाथ अवकाश दिएको अवस्था छ । यसले राष्ट्रकै गहनाको रुपमा मानिएको रिसोर्ट संचालन हुने/नहुने संशय बढेको छ । यही भदौ २४ गते खाईपाई आएको सेवा सुविधाको रकम दिएर रिसोर्ट व्यवस्थापनले ११७ मजदुरलाई एक साथ अवकाश दियो । मजदुरले पनि सहजै यसलाई स्वीकारेर बाहिरिएका छन् ।

पाँच तारे रिसोर्ट बन्दै हुनुपर्ने अवस्थामा किन पुग्यो त ?

सन् १९९८ मा सञ्चालनमा आएको हो यो रिसोर्ट । साढे ४ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा एक सय ६४ बेड छन् । सुरुमा थाईल्यान्डको दुषित्थानी नामक समुहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो । त्यसैले रिसोर्टको नामपनि दुषित्थानी फुलबारी रिसोर्ट थियो । सुरुका ५/६ वर्ष यो राम्रैसंग चलेको पनि हो । पर्यटकहरु राम्रै आएका थिए । तर, सन् २००४ पछिका वर्ष भने कहिल्यै राम्रोसंग रिसोर्ट चल्न नसकेको पूर्व मजदुरको अनुभव छ ।

जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी द्वन्द्वको सुरुवात् र चरमोत्कर्ष, राजा बिरेन्द्रको बंश बिनाश, ज्ञानेन्द्रको शासन जस्ता देशको बिषम परिस्थितिले त झनै नाजुकै बनायो । देशकै अवस्था चौपट भएका बेला संवेदनशील पर्यटन क्षेत्र अछुतो रहने कुरा भएन । झन् ठूलो मारमा पर्‍यो यही रिसोर्ट । गुणस्तरीय अर्थात् खर्चालु (महंगा) पर्यटक आउनै छाडे । आए पनि काठमाडौंमै सिमित भए । ‘टार्गेट’ ग्रुपै नआएपछि रिसोर्ट चल्ने कुरै भएन । घिसिपिसी भइरहेकै बेला मजदुर समस्या थपिएपछि रिसोर्ट झनै समस्यामा पर्‍यो र अन्तत: बन्द नै हुन पुग्यो ।

ब्लु फ्लेग नामक बिदेशी समुहले पनि व्यवस्थापनको जिम्मा लिन खोजेको थियो । तर, एक सातामै समुह पछि हट्यो । ५ वर्षअघि भारतको चेन होटल कम्पनी क्लार्कले पनि व्यवस्थापनको जिम्मा लिएको थियो । तर, एक वर्ष भन्दा बढी त्यो पनि टिकेन । उक्त समुहले २० प्रतिशत व्यवस्थापन ठेक्का लिएको थियो । सञ्चालकदेखि विभिन्न विदेशी समुहले व्यवस्थापन सम्हाल्दा पनि रिसोर्टले गति लिन सकेन ।

यहाँ काम गर्ने अनुभवी कामदारका अनुसार देशको अवस्था खराव भएसंगै व्यवस्थापन पक्ष पनि दह्रो नभएकाले अहिलेको समस्या आएको अड्कल सहजै काट्न सकिन्छ । व्यवस्थापन पक्षका कमजोरी भएसंगै कामदारप्रति पनि त्यति संवेदनशील हुन नसकेको भन्नेहरु पनि छन् । ‘देशको विषम परिस्थितिले पनि होला, तरपनि अहिलेको अवस्थामा आउनुमा व्यवस्थापकीय कमजोरी मुख्य कारण जस्तो लाग्छ,’ एक पूर्व मजदुरले भने ।

रिसोर्टमा आएका पाहुना (पर्यटक) कोठाभित्र पस्नसाथ वाह भनेर खुशी हुन्थे । तर सेवा सुविधा भने राम्रो थिएन । यतिसम्म की तातो र चिसो पानी कतिबेला आउने भन्ने ठेगान हुन्थेन । तारे अझ डिलक्स होटलले दिनुपर्ने सेवा सुविधाको स्तर खस्किएपछि पाहुना कहिल्यै सन्तुष्ट भएर फर्कने अवस्थासमेत थिएन । ‘पुर्वाधारमा राम्रो तर सेवा सुविधामा कमी थियो,’ कामदारहरु भन्छन्, ‘यसले अन्तराष्ट्रिय बजारमा पनि नराम्रो सन्देश प्रवाह भयो । व्यवस्थापनले सुधार्नेतर्फ पहल पनि गरेन ।’

रिसोर्टका संचालक पियुषबहादुर अमात्य राजपरिवारसंग निकट थिए । राजाले जे भन्यो त्यही हुने बेलामा उनले नेपाल बैंकमार्फत ऋण लिएका थिए । करीव ३ अर्ब ऋण लिएकोमा ब्याज बढ्दै गयो । त्यही बेला तत्कालिन राजा बिरेन्द्रको बंश बिनास भयो । देशमा द्वन्द्व चर्कियो । पर्यटन क्षेत्र ओरालो लाग्यो । पर्यटक आउन छाडे । उनले ऋण तिर्न सकेनन् । ऋण तिर्नु त परको कुरा कामदारलाई तलबभत्ता पनि खुवाउन नसक्ने अवस्थामा पुग्यो । दश वर्षे माओवादी द्वन्द्व सकिएर शान्ति प्रक्रिया सुरु भयो । पर्यटन क्षेत्रमा सुधारका संकेतहरु देखिए । तर, यो रिसोर्टमा अर्को समस्या आईसकेको थियो । त्यो थियो, व्यवस्थापन र मजदुर पक्षबीचको खटपट । व्यवस्थापकीय कमजोरीकै कारण मजदुर आन्दोलनले पनि चर्को रुप लिन थाल्यो । समयमै व्यवस्थापन हुन सकेन । ‘रिसोर्टभित्रको माहौल/वातावरणले पनि धेरैजनालाई मजदुर नेता बनायो,’ एक मजदुरले भने, ‘व्यवस्थापन कहिल्यै कुनैपनि कुरामा संवेदनशील भएर लागेको पाईएन । त्यसैको परिणाम आज यो अवस्था आएको हो ।’ ऋण तिर्न नसकेपछि कालो सूचीमा पनि रिसोर्ट परेको थियो । पछि रुग्ण उद्योगमा दर्ता गरिएको छ ।

यत्तिको भौगोलिक अवस्था, जग्गालगायत पूर्वाधार भएको होटल नेपालमा अन्यत्र सायदै होला । गुणस्तरीय पर्यटकलाई लक्षित गरी संचालनमा ल्याइएको रिसोर्ट देशको बिषम परिस्थितिकै कारण अहिलेको अवस्थामा पुगेको होटल संघका केन्द्रीय सदस्य बिप्लव पौडेल बताउँछन् । ‘गुणस्तरीय पर्यटक नआएकाले रिसोर्ट फस्टाउन सकेन,’ उनले भने, ‘कारणहरु जेजे भए पनि रिसोर्ट बन्द हुनु दुखद हो । फुलबारीजस्ता सम्पदालाई बचाउन र यस्तो समस्यालाई सम्बोधन गर्न सबै क्षेत्रको चासो आवस्यक छ ।’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचन पर्यटकको अभावसंगै रिसोर्टले राम्रोसंग व्यापार गर्न नसकेको र समयसापेक्ष आफुलाई अपडेट नगर्दा अहिलेको अवस्था आएको बताउँछन् । भन्छन, ‘मानव संसाधनको विषयमा पनि अलि बढी संवेदनशील भएन की भन्ने लाग्छ।’

रिसोर्ट व्यवस्थापन भने सोचेअनुसारको आम्दानी नभएकालेनै अहिलेको अवस्थामा आउनु परेको जिकिर गर्छन् । देशको अस्थिर राजनीतिदेखि लिएर राष्ट्रिय, अन्तराष्ट्रिय अन्य घटनाक्रमले फुल फेजमा रिसोर्ट चल्न नपाएको महाप्रबन्धक समिर कपिलको भनाई छ । ‘टार्गेट गरेको आम्दानी मेन्टन हुन नसकेपछि समस्या आउने नै भयो,’ कपिलले भने, ‘हामी धानिने अवस्थामा मात्र रह्यै । बन्द गरेनौ । अन्तिम अवस्था आएपछि जस्तो पनि व्यहोर्नु पर्ने रहेछ ।’ सुरुमा रिसोर्टमा ५ सय कामदार थिए । तर राम्रोसंग नचलेपछि कर्मचारी घटाएर डेढसयमा झारिएको थियो । कपिलका अनुसार फेरी पूर्णरुपमा रिसोर्ट संचालन गर्न ६ सय जति कर्मचारी आवस्यक पर्छ ।

कांग्रेस निकट नेपाल पर्यटन तथा होटल मजदूर संघ, एमाले निकट नेपाल स्वतन्त्र होटल मजदूर संघ र माओवादी केन्द्र निकट अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदूर संघले सेवा सुविधा कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएपछि गत फागुन १७ देखि रिसोर्ट बन्द छ । ६ महिनादेखि बन्द रिसोर्ट यतिबेला ‘भूतबंगला’ जस्तो देखिन्छ । रिसोर्ट परिसर, भवनको छत, भित्ता झारपातले ढाकिएको छ । कोठाहरुमा ढुसी पलाएको छ । स्विमिङ पुललगायत संरचना जीर्ण बनेका छन् । रंग खुईलिएको, पानी चुहिएर सामान बिगारेको छ ।

लामो समयदेखि रिसोर्ट बन्द हुँदा व्यवस्थापनले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपरेको छ । एकातिर बुकिङ रद्द गर्नुपरेको र अर्कोतर्फ भौतिक संरचना बिग्रिएकाले मर्मतकालागि करोडौ रुपैयाँ व्ययभार व्यवस्थापनलाई परेको छ । महाप्रबन्धक कपिलले भूकम्प र नाकाबन्दीका वावजुध पनि मासिक तलव समयमै दिईरहेको र अरु सेवा सुविधा छिटै दिन्छौ भन्दा पनि बन्दै गर्नुपर्ने अवस्था आएको बताए । बन्दका कारण केकति क्षति भयो भन्नेबारे पछि हिसाव हुने उनको भनाई छ ।

– लालप्रसाद शर्मा, पोखरा / कान्तिपुर दैनिकका लागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀